Wednesday, November 20, 2013

संविधानसभाको दोस्रो निर्वाचन ऐतिहासिक

टंक पन्त⁄सुनील महर्जन,काठमाडौं

  केही छिटफुट रूपमा भएका घटनाबाहेक देशभरि संविधानसभाको दोस्रो निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। लोकतान्त्रिक व्यवस्था पुनःस्थापना भएपछि यो निर्वाचन अहिलेसम्मकै सबैभन्दा शान्तिपूर्ण रहेको दाबी गरिएको छ। गृह मन्त्रालयका अनुसार यो अप्ठ्यारो स्थितिमा पनि निर्वाचन अहिलेसम्मकै शान्तिपूर्ण भएको छ। देशभरिमा दुई तिहाइभन्दा बढी मत अर्थात् लगभग ७० प्रतिशत मत खसेको अनुमान गृह मन्त्रालयले गरेको छ। राजधानीमा ८२ प्रतिशत मत खसेको छ भने रौतहटलगायतका तराईका धेरै जिल्लामा ७० प्रतिशतभन्दा बढी मत खसेको छ। गोरखा र सिरहाका धेरै ठाउँमा एकीकृत नेकपा माओवादीले आफ्ना मतदातालाई अरूलाई जान नदिएको भन्दै एमाले–कांग्रेसले विवादित ठाउँमा पुनः मतदान गर्न आग्रह गरेका छन्।
मंगलबार खसेको मत प्रतिशत नेपालको इतिहासमै सर्वाधिक बढी रहेको निर्वाचन आयोगले जनाएको छ। यसलाई निर्वाचन सफलताको प्रमुख सूचकका रूपमा आयोगले लिएको छ। रोल्पाको थवाङ गाविसका कुनै पनि मतदाता निर्वाचनमा सहभागी नभएकोलाई आयोगले अपवादका रूपमा लिएको छ।
देशभर १० हजार १३ मतदानस्थलमा १८ हजार ४ सय ३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरू भएको थियो। महिला र पुरुषको छुट्टाछुट्टै लाइन व्यवस्थित थिए भने वृद्धवृद्धा, गर्भवती महिला, अशक्त, सुत्केरी र अपांगता भएकाहरूलाई प्राथमिकताका साथ मतदानमा सहभागी गराइएको थियो। रौतहट, दोलखा र गोरखामा ८० प्रतिशत मत खसेको आयोगले जनाएको छ।
त्यस्तै रुकुम, कपिलवस्तु, लमजुङ, तनहुँ र रूपन्देहीमा करिब ७० प्रतिशत, पाँचथरमा ६८ प्रतिशत, अर्घाखाँची, हुम्ला, डोल्पा, गुल्मी, अछाम, इलाम, सल्यान, जाजरकोटमा ६५ प्रतिशत मतदान भएको छ। त्यस्तै धनकुटामा ६१ प्रतिशत मतदान सम्पन्न भएको छ। बाग्लुङ, बर्दिया, कैलाली, दार्चुला, धादिङ, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, दाङ, नवलपरासी, प्युठान, ललितपुर, पर्सा, जुम्ला, सुनसरी, कालिकोट, पाल्पा, स्याङ्जा र म्याग्दीमा ७० प्रतिशत मतदान भएको छ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बढीभन्दा बढी मतदाताहरू सहभागितामा भयरहित वातावरणमा मतदान हुनुलाई निर्वाचन सफलताको मुख्य आधारका रूपमा लिएको मंगलबार आयोजित पत्रकार भेटघाटमा बताउनुभयो। यस सफलतालाई लोकतन्त्रलाई संस्थागत हुने क्रममा रहेको नेपाल विश्वका अन्य मुलुकका लागि उदाहरण बन्ने प्रमुख निर्वाचन आयुक्त उप्रेतीले दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘संक्रमणकालीन चुनौतीका बीच मतदान सम्पन्न हुनु आफैंमा ठूलो उपलब्धि हो।’
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले प्रविधिको प्रयोग, फोटोसहितको मतदाता नामावली र अन्तिम समयमा भए पनि वितरण गरिएको मतदाता परिचयपत्रका कारण निर्वाचन शुद्ध र सहज बनाएको बताउनुभयो।
२०६४ सालको संविधानसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ६१ दशमलव ७० मत खसेको थियो। त्यसै गरी २०४८ सालको आम निर्वाचनमा ६८ दशमलव १५ प्रतिशत मत खसेको थियो। प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भन्नुभयो– ‘यसपटक अपेक्षा गरेभन्दा बढी मतदाताहरूको सहभागिता रह्यो।’
निर्वाचन दिन नजिकिँदै जाँदा भएको आगजनी, विस्फोट, पेट्रोल बम प्रहारका घटनाले निर्वाचनको दिन केही अप्रिय घटना हुन सक्ने मनोवैज्ञानिक त्रास मतदाताहरूमा थियो। तर सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिले मतदाताहरूले सुरक्षित अनुभूत गरी भोट दिएका थिए। निर्वाचन प्रक्रियामा सहभागी भएका राजनीतिक दल र तिनका कार्यकर्ताहरूले चुनावी माहोल बनाउँदै लगिएपछि निर्वाचनमा मतदाताहरू बढी सहभागी भएको उपत्यकाका विभिन्न स्थानमा मतदान गर्न लाइनमा बसिरहेका मतदाताहरूको भनाइ रहेको छ।
‘बहुसंख्यक राजनीतिक दलहरू निर्वाचनमा प्रक्रियामा सामेल भएपछि त्यसको असर आम मतदातामा पर्ने नै भयो।’ –नेकपा (एमाले) ललितपुर क्षेत्र नं २ का उम्मेदवार कृष्णलाल महर्जनले भन्नुभयो। मतदानमा बढीभन्दा बढी जनसहभागिता मतदाता र राजनीतिक दलहरूले आ–आफ्नो हिसाबले टिप्पणी गरे पनि प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मतदाताहरू जनप्रतिनिधिमार्फत आफ्नो संविधान निर्माण गर्न आतुर रहेको अर्थमा लिएका छन्। सम्बन्धित जिल्लाका सबै मतदान केन्द्रहरूबाट मटपेटिका जिल्लाको सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि मतगणना कार्य शुरू हुनेछ।
बुधबार बेलुकासम्म सुगम जिल्लाका क्षेत्रहरूको मत परिणाम आउने क्रम शुरू हुने आयोगले जनाएको छ। २ सय ४० क्षेत्रको मत परिणाम आउन ७ देखि १० दिनसम्म लाग्नेछ। राजनीतिक दलहहरूबीच विवाद र झडपका कारण रामेछाप, दैलेख, रौतहट, झापा, पर्वत र हुम्लाका केही मतदान केन्द्रहरूमा मतप्रक्रिया केहीबेर स्थगित भएपछि पुनः सञ्चालन गरिएको थियो। नेकपा–माअ‍ोवादीसहितको मोर्चाले निर्वाचन असफल बनाउने गरी आह्वान गरेको बन्दले निर्वाचनलाई कुनै असर गरेन भने कुनै त्रासबिना आमजनता मतदानमा सहभागी भएका थिए।
नेकपा–माओवादीका चिनिएका नेता कार्यकर्ताबाहेक बहिष्कार भनेर हिजो अस्ति हिँडेकाहरूसमेत मतदानमा सहभागी भएका थिए। निर्वाचनमा पुरुष र महिला एक साथ बिहानैदेखि मतदान गर्न लाइनमा लागेका थिए। निर्वाचनमा महिलाहरूको उत्साहजनक सहभागिताले महिलाहरूमा चेतनाको विकास प्रभावकारी हँदै गएको विश्लेषण गरिएको छ। कतिपय जिल्लामा ६० देखि ७० प्रतिशत मत खसेको छ भने पहिलो पटक मतदान गर्नेहरूले संविधानसभाको निर्वाचनमा सहभागी हुन पाएकोमा निकै खुसी व्यक्त गरेका थिए।
संविधानसभाको निर्वाचनमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, प्रमुख आयुक्त नीलकण्ठ उप्रेती, नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल, गृहमन्त्री माधव घिमिरे, सूचना तथा सञ्चारमन्त्री माधव पौडेल, मुख्यसचिव लीलामणि पौडेल र कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले काठमाडौंबाट मतदान गर्नुभयो भने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चितवनबाट, नेता डा. बाबुराम भट्टराईले गोरखाबाट, नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले बाँकेबाट, नेता शेरबहादुर देउवाले डडेलधुराबाट, नेता रामचन्द्र्र पौडेलले तनहुँबाट, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेता सुबास नेम्वाङले इलाम र वरिष्ठ नेता माधवकुमार नेपालले रोैतहटबाट मतदान गर्नुभएको थियो। राष्ट्रपति डा. रामवरण यादवले राजधानीको महाराजगन्जस्थित कान्ति मिलन मतदान केन्द्र गई मतदानको अवलोकन गर्नुभएको थियो।
राष्ट्रपति भवन शीतल निवासको अगाडि रहेको सो मतदान केन्द्रमा भइरहेको मतदानको अवलोकन गर्न राष्ट्रपति यादव केही सहयोगी र सुरक्षाकर्मीको साथमा पैदल जानुभएको थियो। जुम्लाको देपाल गाविसस्थित त्रिभुवन उच्च मावि झाझौल मतदान केन्द्रमा असहज स्थिति उत्पन्न भएपछि मतदान स्थगित भएको छ।
मतपेटिका बोकेको गाडी दुर्घटना
यसैबीच काठमाडौं क्षेत्र नं. ९ को मतपेटिका गणनास्थतल संविधानसभा भवन वानेश्वरतर्फ लैजाने क्रममा त्रिपुरेश्वरमा जिप दुर्घटनाग्रस्त भएको छ। दुर्घटनाबाट पाँच मतदान अधिकृतलगायत सुरक्षकर्मीलाई सामान्य चोट लागेको थाहा भएको छ।

- See more at: http://www.newsofnepal.com/nepal/2013/11/23072/#sthash.3gKiKGNb.dpuf
source : www.newsofnepal.com

No comments:

How to Track Mobile Phone Location

Dear Friends, If you want to track your phone location. Then Watch this Video :)