Wednesday, November 20, 2013

गोरखामा बुथ कब्जा कांग्रेस–एमालेद्वारा उजुरी

नेपाल समाचारपत्र,काठमाडौं

एकीकृत माओवादीले गोरखा जिल्लाको विभिन्न मतदान केन्द्र कब्जा गरी एकतर्फी मत हालेको आरोप लगाउँदै नेपाली कांग्रेस र नेकपा एमालेले ती मतदान केन्द्र रद्द गरी पुनः मतदानको व्यवस्था गर्न निर्वाचन आयोगमा लिखित उजुरी दिएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपाले जनाएअनुसार गोरखाको निर्वाचन क्षेत्र नम्बर १ मा एकीकृत माओवादीले घ्याल्चोकको ज्ञान मावि र पातलदेवी निमाविका बुथ, घैरुङ गाविसको हिमालय माविको बुथ, बाँस्कोट घैरुङको भगवती माविका बुथ, नाम्जुङको जनशक्ति माविको बुथ, बर्लाङको सरस्वती मावि र लक्ष्मी ज्योति प्राविको बुथ, नारायणपुरको ज्योति प्राविको बुथ, अश्राङको नवजाग्रती उमावि र चण्डेश्वरी प्रावि बुथ, दुर्वुङको थानेश्वरी प्राविको बुथ र दुर्वुङ डुम्रिडाँडाको भगवती माविका बुथहरू एमाओवादीले कब्जा गरेका थिए।
कब्जा गरिएका बुथहरूमा अन्य राजनीतिक दलका प्रतिनिधिहरूलाई मतदान केन्द्रमा बस्नसमेत नदिई एकलौटी ढंगले मतदान गरिएको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका सह–सचिव प्रकाश शर्माले जानकारी दिएअनुसार गोरखाको क्षेत्र नम्बर २ मा एकीकृत माओवादीले नवलपुरको महेन्द्र लीला मावि, आँपपीपलको जनता मावि, खोप्लाङको शारदा मावि गाइखोरको लक्ष्मी माविको बुथ तथा हात्तीगौंडा र पालुङटारको बटडाँडाको बुथ पनि एकीकृत माओवादीले कब्जा गरेका थिए।
त्यस्तै गोरखाको निर्वाचन क्षेत्र नम्बर ३ मा स्वाँरा गाविसको माझथर माविको ‘क’ र ‘ख’ को बुथहरू तथा गुम्दा गाविसको गाविस भवनमा रहेका बुथ एमाओवादीले कब्जा गरेको कांग्रेसले जनाएको छ। ‘शुरूमा बसेका राजनीतिक दलहरूका प्रतिनिधिहरूलाई समेत मतदान केन्द्र छोडेर जान बाध्य पारिएको र एकलौटी ढंगले मतदानसमेत गरी सर्वसाधारण जनतालाई आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित गराइएको छ’, कांग्रेसले निर्वाचन आयोगमा पठाएको उजुरीमा भनिएको छ– ‘स्वतन्त्र, निष्पक्ष र निर्भयताका साथ उम्मेदवार छान्न पाउने नागरिकको अधिकारमाथि एनेकपा (माओवादी) ले ठाडो हस्तक्षेप गरेको छ।’ उजुरीमा भनिएको छ– ‘एनेकपा (माओवादी) बाट कब्जा गरिएका मतदान केन्द्रलाई तत्काल रद्द गरी अर्को मतदानको व्यवस्थाका लागि नेपाली कांग्रेस माग गर्दछ।’
सिन्धुलीमा पनि त्यस्तै
यस्तै सिन्धुली संवाददाताका अनुसार सो जिल्लाको क्षेत्र नं १ को हर्षाहीमा रहेको मतदान स्थलमा एकीकृत नेकपा माओवादीका उम्मेदवार लेखनाथ दाहाल (राजन) को नेतृत्वको टोलीले मतदाताहरूको परिचयपत्र र मतदानस्थल आफ्नो नियन्त्रणमा लिई करिब ४ सय फर्जी मत खसालेको नेकपा एमाले र नेपाली कांग्रेसको आरोप छ।
मंगलबार बिहानैदेखि माओवादीले मतदान गर्न अवरोध गरेको र दिउँसो मतदान सुचारु भएको सो केन्द्रमा दिउँसो ४ बजे उनीहरूले मतदान स्थल कब्जामा लिई फर्जी मत खसालेको दाबी गरेका छन्। मतदाताहरू आउन कमी भएपछि एमाले र कांग्रेसका प्रतिनिधिलाई मतदान स्थलबाट कुटपिट गरी लखेटेर मतदानस्थल कब्जा गरेका थिए। मतदानस्थल कब्जा गरी एमाओवादीका कार्यकर्ताले मत खसाल्न थालेपछि सुरक्षाकर्मीले मतदानस्थल नै बन्द गर्नुपरेको थियो।
- See more at: http://www.newsofnepal.com/nepal/2013/11/23076/#sthash.uAIS24SB.dpuf

source : newsofnepal.com

No comments:

How to Track Mobile Phone Location

Dear Friends, If you want to track your phone location. Then Watch this Video :)